एउटा कविता हो
कविले लेख्न नसकेको
रविले देख्न नसकेको
पहाडले छेक्न नसकेको
आधिले रोक्न नसकेको
शब्द बोकेर अर्थ दिन नसकेको
हो म एउटा कविता हो ।
कैयन शब्दहरु छन्
हजारौ भावहरु छन्
थुप्रै परिभाषाहरु छन् जिउनुको
थुप्रै आकार र परिकार छन् जिवनको ।
हरफ हरफका भोगाइहरु छन्
अनुच्छेद पिच्छेका व्यथाहरु छन्
गाउन सके लयहरु छन्
मिलाउन सके छन्दहरु छन् ।
मैले कोरेको समयको रेखा सिधा कहाँ हुनु
मैले उचालेको दु:खको पहाड सानो कहाँ हुनु
मैले हिडेको गोरेटो त्यति फराकिलो कहाँ हुनु
मैले जिएको समय त्यति सहज कहाँ हुनु ?
यति भन्छु
हो म आफै एउटा कविता हो
कसैले लेखे हुन्छ
नजिकबाट देखे हुन्छ ।
(नोट: कोपिला राई- सोलुदुधकुण्ड नगरपालिकाको प्रशासकिय अधिकृत हुन)
तपाईको बिचार