माननीय मन्त्री ज्यू,
जयनेपाल !
हजुर दोस्रोपटक म कार्यरत संगठनको तालकुदार मन्त्री बन्नु भएको छ, धेरै जनतासँगै म पनि खुशी भएको छु । संगठनमा सेवा सुरु गरेको १०/१२ वर्षमा पहिलोपटक आशावादी भएको छु । अब हामी जस्ता तल्ला तहका सिपाहीहरुको पनि दिन फिर्नेछ भन्ने ।
तपाईंको मातहतमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तल्ला तहका सिपाहीहरुको पीडा र नियमप्रति कत्तिको जानकार हुनुहुन्छ, त्यो हामी जस्ता तल्ला दर्जाका सिपाहीले सोध्न सक्ने आँट नै आउँदैन, तर मन्त्री ज्यू, तल्ला दर्जाका प्रहरीका कर्मचारीहरु ज्यादै पीडित छन् ।
मन्त्री ज्यू,
जागिर खाँदाको बखतमा पाइने तलब सामान्य घर खर्चमै सकिने कुरा यहाँलाई हिसाब नै गरेर देखाउनुपर्दैन शायद । बढ्दो महंगीले गर्दा छोरा–छोरीको पढाई र हाम्रो दुई हात मुख जोड्न नै मुस्किल परिरहन्छ । सुखद् भविष्यको कल्पनामा मुलुकको सेवा गर्ने अभिलाषासहित भर्ना भएका सिपाहीहरुमा पछिल्ला समय वितृष्णा देखिन थालेको छ । कैयौं सिपाहीहरुको चौकी र ब्यारेकभन्दा बाहिरको सुन्दर संसारको कल्पना सपनामै सीमित हुने गरेको छ । सिपाहीहरु पनि सपना देख्न जानेका हुन्छन्, कल्पना गर्न सक्ने हुन्छन् अनि आफूभन्दा सिनियरले पूरा गरिदेलान् कि भन्ने आशमा पनि हुन्छन् । हो, कतिपय बाध्यताले, कतिपय कमजोर मानसिकताले, कतिपय अनेक कारणले हुनसक्छन् ।
सुरक्षा निकायमा कार्यरत कर्मचारीहरुलाई पछिल्लो समय शारिरिकसँगै मानसिक अभ्यास गराउनुपर्ने पनि देखिएको छ । ड्युटीको चिन्ता, परिवारको चिन्ता अनि दौंतरीहरुको आर्थिक अवस्थासँग आफ्नो तुलना गर्दैगर्दा कतिपय मानसिक रुपमा कमजोर बन्न पुग्दछन् । त्यसैले संगठनमा कार्यरतहरुलाई मनोवैज्ञानिक हिसाबले पनि सबल बनाउनुपर्ने देखिएको छ । कमजोर मानसिक अवस्थाको पछिल्लो उदाहरण हालैमात्र सशस्त्र प्रहरीका एउटा बरिष्ठ अधिकृतले गरेको कार्यलाई लिन सकिन्छ, त्यो मात्र नभएर एउटा प्रहरीले अर्की प्रहरी एवं श्रीमतीलाई ड्युटीमै रहेको बेला किन गोली हान्छ ? एउटा प्रहरीले होटलमा बोलाएर श्रीमती र छोराको किन हत्या गर्छ ? अनि एउटा डिएसपी जस्तो उच्चअधिकृत किन पासो लगाएर झुन्डिन्छ ? त्यस किसिमको घटना दोहोरिन नदिनका लागि र एउटा सिपाहीको मनोबल उच्च बनाउनका लागि मन्त्रीज्यूले केही उपाय अपनाउनुहुनेछ भन्ने पनि विश्वास लिएको छु ।
मन्त्री ज्यू,
सेवा प्रवेश गरेको वर्षौंसम्म पनि बढुवाको सम्भावना अत्यन्त न्यून रहेको संगठनका सिपाही हौं हामी, र हामीजस्तै मुलुकको रक्षाको लागि खटिने नेपाली सेनाभन्दा ठ्याक्कै अर्कै आमाको सन्तान जस्तो व्यवहारसमेत भोगिरहेको अर्को तीतो यथार्थ यहाँलाई यस पत्रमार्फत् जानकारी पनि गराउन चाहें ।
नेपाली सेनाका सिपाहीले संगठनमा भर्ना भएपछि जागिर अवधिमा कम्तीमा १ पटक मिसन जानु अनिवार्य जस्तै देखिए पनि नेपाल प्रहरी र सशस्त्रमा भने मिसन एउटा सपना जस्तो बन्ने गरेको तीतो यथार्थ पनि यहाँसमक्ष सुनाउन चाहन्छु । अनि अर्को तीतो यथार्थ, नेपाली सेनामा १६ वर्षमै पेन्सन निस्कन सकिने नियम रहेकोमा नेपाल प्रहरीमा भने कम्तीमा २० वर्ष नै पुर्याउनुपर्ने किन हो ? जीवनको उर्वर समय नेपाल प्रहरीमा बिताए पनि जागिरपछि दुई छाक हातमुख जोर्नका लागि विदेशिनुपर्ने बाध्यता रहेको अवस्थामा उमेरकै कारण सशस्त्र र प्रहरीका कर्मचारीहरु वैदेशिक रोजगारीका लागि आउने अवसरबाट बञ्चित भएका छन् । २० वर्षको उमेरमा भर्ना भएको एउटा सिपाहीले ४० वर्षको उमेरमा पेन्सन निस्कँदै गर्दा वैदेशिक रोजगारीका ढोकाहरु बन्द भइसकेका हुन्छन्, यदि नेपाली सेनामै जस्तो १६ वर्षमा पेन्सन निस्कन पाइएको खण्डमा अलिकति भए पनि आर्थिक उपार्जनका लागि अवसर पाइन्थ्यो कि भन्ने हो ।
तपाईको बिचार