“मेरो सोलु”
जहाँ सगरमाथा र लोत्सेले नीलो आकाश चुम्न खोजिरहेछन
जहाँ दुधकोशी र भोटेकोशी पवित्र जल बोकी बगिरहेछन
हो त्यो हो मेरो सोलु
जहाँ गुराँस र चिमल हाँगा अनि पात पातमा गाँसिरहेछन
जहाँ मृगिनी र कस्तुरी पाठाहरु उफ्री उफ्री नाचिरहेछन
हो त्यो हो मेरो सोलु
जहाँ सुनपाती र भैरुङपातीले मिठो सुगन्ध छरिरहेछन
जहाँ सेताम्मे हिउँका पाखा भरी डाँफे र मुनाल चरिरहेछन
हो त्यो हो मेरो सोलु
जहाँ त्याङ्बोचे र चिवाङ गुम्बाले शान्तिको सन्देश छरिरहेछन
जहाँ उभौली र उधौलीमा किराँतीहरु भूमे पूजा गरिरहेछन
हो त्यो हो मेरो सोलु
जहाँ सोलु खोला र दुधकोशीमा असला र काभ्रे उफ्रिरहेछन
जहाँ डलरको बीटा बोकी लाखौँ पर्यटक थुप्रीरहेछन
हो त्यो हो मेरो सोलु
जहाँ पाहाडी सिरै भरी गुराँस र सुनाखरी फुलिरहेछन
जहाँ जुबु र नेचाकाे फाँट भरी धानको बाला झुलिरहेछन
हो त्यो हो मेरो सोलु
जहाँ भदौरे भेल सँगै नेवारको लाखे ढोल झ्याम्टा ठोकिरहेछन
जहाँ रंगी विरंगी धर्म संस्कृति एक मुस्ट बोकिरहेछन
हो त्यो हो मेरो सोलु
|||
दिलिप”संकल्प”थुलुङ्ग
थुलुङ्ग दुधकोशी गाउँपालिका ५
साङ्खे
हाल-पैसा फल्ने मरुभूमि बाट….
तपाईको बिचार