प्रविधिको बढ्दो महत्वलाई मध्यनजर गर्दै वडाध्यक्ष शेर्पाले जोरबौद्ध चौकमा फ्रि वाईफाई सेवा सुचारु गर्नुभएको वडासदस्य भलाकाजी कार्कीले जानकारी दिनुभयो । जोरबौद्ध नगरपालिकाको एक व्यस्त सडक हुनका साथै सल्लेरी, नेले, सोताङ, महाकुलुङ तथा जिल्ला बाहिरका लागि छुट्ने सवारी साधनहरु समेत यही हाईवे हुँदै जाने भएकाले उपयोगी हुने वडाध्यक्ष शेर्पाको विश्वास छ ।

साथै उक्त सडकमा यात्रुहरु लामो समय सवारी कुरेर बस्ने भएकाले उनीहरुका लागि समेत समय विताउन सहज हुने विश्वास गरिएको छ । उहाँले भन्नुभयो, “इन्टरनेटको सहज पहुँच भएपछि विद्यार्थीहरुलाई विभिन्न ज्ञानवद्र्धक कुराहरु गुगलको माध्यमबाट खोजेर अध्ययन गर्न सकिन्छ, सुरक्षामा खटिने प्रहरीहरुलाई पनि यसले सहजता हुन्छ भने अर्कोतर्फ स्थानीयले समेत त्यहाँ आएर निःशुल्क सेवा लिन पाउँछन् ।”

नेपाल टेलिकमको फइबर नेट मार्फत ५० एमपीबीएसको इन्टरनेट तथा फ्रि वाईफाई जडान भएसँगै स्थानीयले खुसी व्यक्त गरेका छन् । इन्टरनेट जडानखर्च खर्चसँगै त्यस बापत लाग्ने वार्षिक १२ हजार ५ सय रुपैयाँ खर्च समेत आफुले नै बेहोर्ने उहाँको भनाई छ । रासस