सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ६ खोरियामा नवनिर्मित कभर्ड हलको उद्धाटन गरिएको छ । उक्त सुविधा सम्पन्न कभर्ड हलको नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पा र वडाध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले आज संयुक्त रुपमा रिबन काटेर उद्धाटन गर्नुभएको हो ।
आज कर्बड हल उद्धाटनसँगै भोलिदेखि “खोरियाली एक हौँ, खोरिया बनाऔँ” भन्ने मुल नाराको साथमा सोलुखुम्बु जिल्ला स्तरीय खुल्ला पुरुष डबल र खुल्ला महिला डबल ब्याडमिन्टन प्रतियोगिता सुरु हुने छ ।
ब्याडमिन्टन प्रतियोगिताको पुरुस्कार दुवै तर्फ सम्मान राशी ट्रफी, मेडल र प्रमाण पत्रका साथमा रु.२५ हजार, १५ हजार, ७ हजार ५ सय तथा सान्त्वना हुनेलाई ७ हजार ५ सय रहेको आयोजकले जनाएको छ । उद्धाटन कार्यक्रममा विद्यार्थीहरुले विभिन्न संस्कार संस्कृति झल्किने नृत्य प्रस्तुत गर्दै अतिथीहरुलाई स्वागत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख शेर्पाले खोरियाको विकासमा नेपाने युवा क्लबले एउटा इटा थपेको बताउनुभयो । यता सोलुदुधकुण्ड नगरपालिका ६ का वडाध्यक्ष फुरी ग्याल्जेन शेर्पाले युवाको सक्रीयताबाट नै विकास संभव हुने भएकाले वडाको तर्फबाट सहयोग गर्न तयार रहेको बताउनुभयो ।
यस्तै नेपाने युवा क्लबका अध्यक्ष देण्डी शेर्पाले सबैको साथ सहयोग कै कारण क्लबले विभिन्न कार्यक्रम अगाडी बढाउन सहज भएको उल्लेख गर्नुभयो । विशिष्ट अतिथीको आशनबाट बोल्दै उपमेयर गान्धीमाया तामाङले नेपाने युवा क्लवले गर्दै आएको कार्यको प्रशंसा गर्दै आगामी दिनमा क्लबको उज्वल भविष्यको कामना गर्नुभयो ।
खोरिया गाउँको विकासको लागि २०५९ सालमा स्थापना गरिएको नेपाने युवा क्लबले लामो समयदेखि समाज रुपान्तरणको क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आएको छ । कार्यक्रम नेपाने युवा क्लवका अध्यक्ष देण्डी शेर्पाको अध्यक्षतामा सम्पन्न भएको छ ।
एउटै संरचनामा कभर्ड हल तथा सामुदायिक समेत रहेको उक्त हल निर्माणका लागि सोलुदुधकुण्ड नगरपालिकाले ३९ लाख, मिड सोलु हाईड्रोपावरले सामाजिक उत्तर दायित्व अन्तरगत १० लाख र स्थानीय जनश्रमदान गरि करिब ६० लाख खर्च भएको नेपाने युवा क्लवका केन्द्रीय अध्यक्ष देण्डी शेर्पाले जानकारी दिनुभयो उहाँका अनुसार नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा १६ लाख, २०७९/०८० मा १५ लाख र चालु आर्थिक वर्ष २०८०/८१ मा ८ लाख रकम विनियोजन गरेको थियो ।
तपाईको बिचार