थुलुङ दुधकोशीमा सुरु भयो एकीकृत पाठ्यक्रम सम्बन्धी शिक्षक तालिम - दुधकोशी खबर

थुलुङ दुधकोशीमा सुरु भयो एकीकृत पाठ्यक्रम सम्बन्धी शिक्षक तालिम

  • Dudh Koshi २०८० मंसिर २७ बुधबार २२:०६:१७

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका र रीड नेपालको संयुक्त आयोजनामा एकीकृत पाठ्यक्रम सम्बन्धी ३ दिने शिक्षक तालिम थुलुङ दुधकोशी गाउँपालिकाको वीरेन्द्रोदय मा.वि. मुक्लीमा आजबाट सुरु भएको छ ।

थुलुङ दुधकोशी गाउँपालिका भित्रका आधारभूत तह कक्षा १-३ मा शिक्षण गर्ने शिक्षक र विद्यालयका प्र.अ.हरु गरेर ९६ जना तालिममा सहभागी भएको शिक्षा शाखा प्रमुख गणेश गुरुधामीले जानकारी दिए । रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष असिम राईको प्रमुख आतिथ्यतामा संचालित तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष असिमराईले गरेका थिए ।

उक्त उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष राईले शिक्षक मिहिनेती र उर्जाशील हुनुपर्ने बताउनुका साथै पाठ्यक्रम शैक्षिक क्रियाकलापको मार्गदर्शन भएकोले शिक्षण क्रियाकलापलाई व्यवहारिक र उपलब्धीमूलक बनाउन शिक्षकहरुले पाठ्यक्रमको अध्ययन गर्न आवश्यक र अनिवार्य रहेको बताए ।

अध्यक्ष राईले थुलुङ दुधकोशीको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न महत्त्वपूर्ण शैक्षिक क्रियाकलाप संचालन गर्दै आएको स्मरण गराउदै त्यही कार्यक्रमको निरन्तरता यो तालिम रहेको बताए । नमुना पालिका निर्माणको मुख्य एजेन्डाहरुमा समेत शिक्षा क्षेत्र उच्च प्राथमिकतामा रहेको बताउदै सम्पूर्ण प्र.अ. तथा शिक्षकहरुलाई सक्रिय भएर आफ्नो एजेन्डा सफल पार्नका लागि साथ दिन आग्रह गरे ।

सोहि कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सबिता राई, वडान ६ का वडा अध्यक्ष महिन्द्रदीप राई सामाजिक विकास समिति संयोजक बुद्धिराज राईको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरी, शिक्षा विकास अधिकृत सुजाता राई, विष्णु प्रसाद उपाध्याय, अभिषेक विक्रम शाह र जुनु हिराचनले गरिरहनु भएको छ ।

तालिममा एकीकृत पाठ्यक्रमको अवधारणा, व्यवहार कुशल सिप, एकीकृत शिक्षण सिकाइ सहजीकरण योजना निर्माण तथा अभ्यास र विद्यार्थी सिकाइ मूल्यांकनलगाएतका विषयमा जोड दिने रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले जानकारी दिएका छन् ।

तपाईको बिचार

सम्बन्धित खबर