सोलुखुम्बु । नेपाली साहसिक पर्यटकीय गतिविधिको विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले एभरेस्ट ट्रेल रेसको ११ औँ संस्करण शुरु भएको छ ।
सोलुखुम्बुको पत्ताले धापबाट आईतवार सुरु ट्रेल रेसको सोलु दूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले उद्घाटन गरेका हुन। कुल एक सय ७५ किलोमिटर लामो यो दौडमा १० देशका २९ जना धावक सहभागी रहेको सो ट्रेल रेसमा दुई नेपालीमात्रै सहभागी रहेको बताईएको छ।
साहसिक धावकहरुको संख्या अधिक भए पनि स्पोन्सरको अभावले ट्रेल रेसमा नेपालीहरुको संख्या न्युन रहेको आयोजकले गुनासो गरेका छन्।
कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख शेर्पाले एभरेस्ट ट्रेल रेस बिश्वभर नेपाली पर्यटन प्रबर्द्धनका लागि प्रचारको महत्वपूर्ण अवसर भएको बताउंदै आगामी संस्करणदेखि नेपाली धावकहरुलाई प्रतियोगितामा सहभागी गराउन नगरपालिकाले आवश्यक आर्थिक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
पछिल्लो समय तल्लो सोलुमा पर्यटकहरुको चहलपहल बढ्न थालेको बताउंदै उनले यसलाई थप बिस्तार गर्न आवश्यक रहेको बताए।
पर्यटन वर्ष २०११ देखि एभरेस्ट ट्रेल रेस शुरु भएको हो । अन्नपूर्ण ट्रेक्स एन्ड एक्पिसडिशन र स्पेनको ग्रन्स स्पाइस नामक कम्पनीले संयुक्त रूपमा प्रतियोगिता आयोजना गर्दै आएका छन् । छ दिनसम्म चल्ने दौडमा निर्धारित एक सय ७५ किलोमिटर दुरीमध्ये ३३ किलोमिटर दुरी उकालो–ओरालो मात्रै रहेको छ ।
प्रतियोगितामा पहिलो हुनेले दुई लाख, दोस्रो हुनेले डेढ लाख र तेस्रो हुनेले एक लाख रुपैयाँ प्राप्त गर्ने अन्नपूर्ण ट्रेक्स एन्ड एक्पिसडिशन प्रालिका कार्यकारी निर्देशक कामी शेर्पाले जानकारी दिनुभयाे ।
सोलुखुम्बुको पत्ताले धापबाट शुरु भएको दौड पिके डाँडा, जुनबेसी, थुप्तेनछोलिङ, रिङमु, टाक्सिन्दु, खरीखोला, फाक्दिङ, नाम्चे हुँदै फोर्चे पुगेर त्यहाँबाट खुम्जुङ हुँदै नाम्चेबाट लुक्लामा झरेर सकिन्छ ।
तपाईको बिचार