सोलुखुम्बु । संघीय संरचानाअनुसार सात गाउँपालिका र एक नगरपालिका रहेको सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाले ग्रामिण क्षेत्रका नागरिकको समस्यालाई मध्यनजर राख्दै काम गरिरहेको छ ।
केही समय अगाडी मात्रै यस नगरपालिकाले सोलुखुम्बु जिल्लाका नागरिकले निःशुल्क प्रयोग गर्न पाउने गरी शव वहान एम्बुलेन्स सेवाको सुरुवात गरेको थियो ।
सोलुुदुधकुण्ड नगरपालिकाले शिक्षा, खानेपानी, विद्युत, भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा पनि उत्तिकै उल्लेखनीय कार्य गर्दै आएको नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो ।
यस्तै कार्तिक २२ गते नगरपालिकाको वडा नम्बर ४ फाप्लुमा निर्माण गरिएको वसपार्कबाट पूर्व अरनिको वस सेवा सुरुवात गरिएको छ । पूर्व अरनिको यातायातले सोलुखुम्बु सदरमुकाम सल्लेरीदेखी काठमाडौंसम्म यातायात सेवा औपचारिक रुपमा प्रारम्भ गरेको हो ।
शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सोलुदुधकुण्ड नगरपालिका मेयर नाम्गेल जाङ्बु शेर्पाले सुरक्षित, भरपर्दो र सेवामा उत्कृष्ट हुन आग्रह गर्नुभएको छ। अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक र बालबालिकालाई सहुलियत यात्राको व्यवस्था सहित सेवा प्रभावकारी बनाउन मेयर शेर्पाले बस सञ्चालक समितिलाई सुझाव दिनुभएको छ । उहाँका अनुसार हाल बस सञ्चालक समितिसँग समन्वय सहकार्य भइरहेको छ ।
यस्तै चाँडै नै सोलुदुधकुण्ड नगरपालिकाले सल्लेरी—थुलुङ दुधकोशी गाउँपालिका, सोताङ गाउँपालिका हुँदै महाकुलुङ गाउँपालिकासम्म तथा सल्लेरीबाट तिङ्ला हुँदै नेचासल्यान गाउँपालिकासम्म अरनिको वस सञ्चालन गर्ने भएको छ ।
यसका साथै सल्लेरीबाट माप्यदुधकोशी गाउँपालिका हुँदै खुम्बुपासाङल्हामु गाउँपालिका र सल्लेरीबाट जुनवेशी हुँदै लिखुपिके गाउँपालिकासम्म वस सेवा सुरुवात गर्ने गरी तयारी गरिरहेको मेयर शेर्पाले उल्लेख गर्नुभयो । यसअघि भरपर्दो बस सेवा नहुँदा जिल्लाका नागरिकहरुलाई सदरमुकाम तथा राजधानी जान समस्या हुने गरेको थियो ।
तर अब बस सेवा संचालन हुने भएपछि यहाँका नागरिक दंग छन्। साँच्चै नै नगरपालिको आफ्नो पालिकाको विकास र सहजतामा मात्र केन्द्रित भएको छैन भन्ने उदाहरण यसअघि संचालन भएको शव वाहन, अव जिल्लाभर संचालनमा ल्याउने अरनिको बस सेवालाई उदाहरणको रुपमा लिन सकिन्छ ।
तपाईको बिचार