सोलुखुम्बुको दुधकुण्डमा ४ दिने स्वास्थ्य सिविर सम्पन्न - दुधकोशी खबर

सोलुखुम्बुको दुधकुण्डमा ४ दिने स्वास्थ्य सिविर सम्पन्न

नेपाल रेडक्रस सोसाइटी टाक्सिन्दु उपशाखाको आयोजना तथा नेपाल लाइफ इन्स्युरेन्स कम्पनि लि.को सहयोग तथा सोलुदुधकुण्ड नगरपालिकासँगको समन्वयमा २०८० भाद्र ११ देखि १४ गतेसम्म सोलुखुम्बु जिल्लाको प्रसिद्ध धार्मिकस्थल दुधकुण्ड आउने तिर्थयात्रीका लागि निशुल्क प्राथमिक स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।

उक्त शिविरबाट ४२२ जना भक्तजनहरु प्रत्यक्ष लाभान्वित भएका छन् । जसमा २१० जनाको स्वास्थ्य परीक्षण १४६ जनालाई औषधि वितरण ६४ जनालाई प्राथमिक उपचार २ जनालाई एम्बुलेन्स सेवा प्रदान गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटीले २०६६ सालदेखि विभिन्न संघसंस्थासँग समन्वय गर्दै निशुल्क प्राथमिक स्वास्थ्य शिविर संचालन गर्दै आइरहेको छ । यस वर्ष नेपाल लाइफ इन्स्युरेन्स कम्पनि सल्लेरी शाखाले संस्थाको सामाजिक उतरदायित्व शिर्षक अन्र्तगत रहेर प्राथमिक स्वास्थ्य शिविरका लागि रेडक्रसलाई सहयोग गरेको शाखाका प्रबन्धक प्रकाशबाबु कार्की बताउनुहुन्छ । नियमित कार्यक्रम संचालन गर्न गास, बासका लागि तथा स्वयंसेवक परिचालन गर्न धेरै नै खर्च लाग्ने हुन्छ । वडा कार्यालयबाट रेडक्रसका गतिविधिहरु संचालन गर्न सिमित बजेटमात्र विनियोजन हुन्छ । नियमित कार्यक्रम गरिरहन विभिन्न संघसंस्थाहरुकै भर पर्नु पर्ने हुन्छ यस वर्ष शिविरका लागि सहयोग पु¥याउनु भएकोमा नेपाल लाइफ इन्स्युरेन्सलाई दुधकुण्ड शिविरका संयोजक तथा रेडक्रस टाक्सिन्दुका उपसभापति आइविर राईले धन्यवाद दिनुभयो ।


मेलामा स्वास्थ्य शिविर संचालनका लागि औषधिसहित ६ जना स्वास्थ्यकर्मीको प्रबन्ध सोलुदुधकुण्ड नगरपालिकाले गरेको थियो । स्वास्थ्यकर्मी र रेडक्रसकर्मीहरुले संयुक्त रुपमा शिविर संचालन गरेका थिए । विशेषत मेलाको बखत उच्च स्थान भएकाले टाउको दुख्ने, बान्ता हुने, शरीरका जोर्नी दुख्ने, श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण भएका बिरामीहरको उपचार गरिएको थियो ।

उक्त मेलामा नेपाली सेना तथा नेपाल प्रहरीको समेत संयुक्त स्वास्थ्य शिविर संचालन रहेको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर