भुक्तानी नपाएको भन्दै नेचासल्यान गाउँपालिकाको गेटमा धर्ना - दुधकोशी खबर

भुक्तानी नपाएको भन्दै नेचासल्यान गाउँपालिकाको गेटमा धर्ना

  • Dudh Koshi २०८० असार २५ सोमबार ०४:५५:१८

सोलुखुम्बु। सहमति भए अनुसार योजनाको पैसा भुक्तानी नभएको भन्दै नेचासल्यान-१ का प्रदीप बस्नेतले नेचासल्यान गाउँपालिकाको गेटमा धर्ना सुरु गरेका छन्।

नेचासल्यान गाउँपालिका वडा नं १ ठाडो खोलामा गरेको सडक मर्मत सम्बन्धि कामको जम्मा भुक्तानीमध्ये सहमति अनुसार तत्काल पाउनुपर्ने २ लाख रुपैयाँ कर्मचारीको बद्मासीका कारण पाउन नसकेको भन्दै बस्नेतले सोमबार मध्यरातबाट गाउँपालिकाको गेटमा धर्ना सुरु गरेको बताए।

गाउँपालिका अध्यक्ष धञ्जन राई लगायतका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत लबुन राई लगायतका कर्मचारीको बैठकले सबै रकम भुक्तान गर्न बजेट अभाव भएका कारण तत्काललाई २ लाख भुक्तानी दिने निर्णय भएको बताउंदै बस्नेतले आफुले त्यसका लागि राजस्व पनि बुझाईसकेको बताए। तर महालेखाले तोकेको समयभित्र कर्मचारीले सो रकम भुक्तानी नगरेपछि राती १२ बजेदेखि आफुले गाउँपालिकाको गेटमा धर्ना सुरु गरेको उनको भनाई छ।

प्रमुख प्रशासकीय अधिकृत राईले भने अनुसार मैंले काम गरें।योजना सम्पन्नको सम्पूर्ण प्रक्रिया पूरा गर्दा पनि सहमति अनुसारको भुक्तानी नगरेर कर्मचारीहरुले मलाई दु:ख दिए,बस्नेतले भने-‘अब पाउनुपर्ने सबै भुक्तानी नपाएसम्म पालिकाको गेटमा मेरो धर्ना जारी रहन्छ।’

कर्मचारीहरुले आफुलाई मात्रै नभएर भुक्तानीमा अन्य धेरैलाई दु:ख दिएको दावी बस्नेतले गरेका छन्।यस्मा अध्यक्ष राई लगायत जनप्रतिनिधिको कुनै दोष छैन, कर्मचारीको बद्मासी छ,उनले भने ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राईले भने तोकिएको समयभित्र कागजातहरु आई नपुदा कहिले काहिं यस किसिमका समस्या आउने भए पनि यस पटक बजेट अपुग भएका कारण चाहेर पनि कतिपय योजनाको रकम भुक्तानी गर्न नसकिएको बताए। संघ र प्रदेशले बजेट कटौती गरेका कारण समस्या उत्पन्न भएको बताउंदै बांकी रहेका योजनाहरुको भुक्तानी साउन पछि गरिने उनले बताए। वहाँको मात्रै होइन,अरु योजनाको पनि भुक्तानी बांकी छ,- प्रमुख प्रशासकीय अधिकृत राईले भने ।

तपाईको बिचार

सम्बन्धित खबर