दशकौंपछि बुडिडाँडामा पुग्यो पिउने पानी, अध्यक्ष राई भन्छन - नागरिकको खुशिले मलाई सन्तुष्टि मिल्यो - दुधकोशी खबर

दशकौंपछि बुडिडाँडामा पुग्यो पिउने पानी, अध्यक्ष राई भन्छन – नागरिकको खुशिले मलाई सन्तुष्टि मिल्यो

  • Dudh Koshi २०८० असार ५ मङ्गलबार १३:०९:४७

सोलुखुम्बु – जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाको देउसा र बुडीडाँडा क्षेत्रमा २० दिनको अवधिमै १२५ घरधुरीमा खानेपानी पु¥याइएको छ ।

पालिकाको खानेपानी व्यवस्थापन बोर्डले खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयको सहयोगमा गत चैत्र ७ गतेबाट सुरु गरेको घुम्नेपानी–बुडिडाँडा खानेपानी आयोजनाको काम चैत्र २७ गते सम्पन्न गरी हिजो सोमबार उद्घाटन गरिएको हो । यससँगै सो क्षेत्रका नागरिकहरुको वर्षौदेखिको खानेपानी समस्याको दिगो रुपमा समाधान भएको छ ।

उक्त खानेपानीको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष असिम राईले नागरिकको खुसीले आफुलाई सन्तुष्टि मिलेको बताउँनुभएको छ । देउसा र बुढीडाँडावासीहरु खानेपानीकै लागि घण्टौँ हिड्नुपर्ने बाध्यताबाट सधैका लागि मुक्त भएकाले नागरिकको खुसीले आफुहरुलाई सन्तुष्टि मिलेको उहाँको भनाई छ । यस्तै वडा नम्बर ७ का अध्यक्ष एवं पालिका स्तरिय खानेपानी बार्डका संयोजक भोजराज कार्कीले नागरिकको प्रत्यक्ष सहभागीतामा छोटो समयमै १०० भन्दा बढी घरधुरीलाई खानेपानी उपलब्ध गराउन सफल भएको बताउँनुभयो ।

पाइप लगायतका सामाग्रीहरु खानेपानी कार्यालयबाट प्राप्त भएको भएपनि अन्य कार्यहरु स्थानीय जनश्रमदानबाटै जुटाइएको उहाँको भनाई छ ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष सुबास बस्नेतले सबैको सहयोग र सहकार्यका कारण काम सुरु गरेको २० दिनमै घर–घरमा खानेपानी पुगेको बताउनुभयो । स्थानीय जनप्रतिनिधिको सही नेतृत्व र नागरिकको सकृय सहभागिताका कारण कामले गति लिएको उहाँको भनाई छ ।

उक्त खानेपानी वडा नम्बर १ नेले क्षेत्रको मुहानबाट करिब ९ किलो मिटरको दुरीमा पु¥याइएको छ । बुढीडाँडा क्षेत्रका खानेपानीको मुहान नहुँदा सो क्षेत्रका सयौँ घर नागरिकहरु वर्षौदेखि खानेपानीका लागि घण्टौँ हिडन् बाध्य बनेका थिए ।
पहिलो पटक घर आँगनमै स्वच्छ पिउने पानी आएसँगै उपभोक्ताहरु खुसीले दंग भएका छन् ।

तपाईको बिचार

सम्बन्धित खबर