काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने नाममा भएको ठगी प्रकरणमा संलग्नलाई कारवाही गर्न सरकारले खुट्टा कमाउन नहुने आवाज अहिले सबैतिरबाट उठीरहेको छ ।
नागरिक समाज अनि सांसदहरुले पनि संसदमा यो प्रकरणमा संलग्नलाई कारवाही गर्नुपर्ने माग गरिरहेका छन् । खासगरी यो प्रकरणमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेपछि प्रधानमन्त्री पुष्प कमल दाहाल र उपप्रधान एबं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सबैतिरबाट प्रशंसा बटुलेका छन् ।
बुधवार कांग्रेस नेता एबं पूर्व गृहमन्त्री बालकृष्ण खाँण पनि पक्राउ परे । अर्का आरोपी नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी भने प्रहरीले पक्राउ पुर्जि जारी गरेपछि फरार भएका छन् ।
ठगीमा पर्नेहरुले प्रहरीमा दिएको उजुरीका आधारमा १२ चैतमा गिरोहका मुख्य योजनाकार मोरङका केशव दुलाल सहित तीन जना पक्राउ परे । पक्राउ पर्ने अरु दुइजनामा टेक गुरुङ र ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ४ मा बस्ने सानु भण्डारी थिए । यी तीनजना पक्राउ परेपछि प्रहरीले बयान लिन शुरु गरेपछि यो ठगीको जालो कहाँसम्म फैलिएको रहेछ भन्ने कुरा उजागार हुँदै गएको छ । उनीहरुले बयानका क्रममा पोल्दै जाँदा बुधबार पूर्व गृहमन्त्री खाँण पक्राउ परेका हुन् । खाँणसँगै उनी गृहमन्त्री भएका बखत स्वकीय सचिव रहेका नरेन्द्र केसी पनि बुधवारै पक्राउ परेका छन् ।
यस अघि पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, उराष्ट्रपति कार्यालयमा जानु अघि गृह सचिव रहेका टेकनारायण पाण्डे,टोप बहादुर रायमाझीका छोरा सन्दीप रायमाझी लगायत पक्राउ परिसकेका छन् । यसले गिरोहको पहुँच उच्च राजनीतिक तह र प्रशासनिक तहमा रहेको स्पष्ट देखिएको छ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउन भनेर करोडौं रकम ठगी गर्ने गिरोह शक्तिशाली भएकै कारण उनीहरुबाट पीडित पीडामै बस्न बाध्य छन् । प्रलोभनमा परेर कतिको घरबार डुबेको,ऋण काढेर ल्याएको पैसामा गिरोहले मोजमस्ती गर्दा सर्वस्व सकिएको पीडा पीडितको छ । सानु भण्डारीको एक छिमेकीका अनुसार टोलमा उनको रवाफ छुट्टै थियो । ती छिमेकीका अनुसार भण्डारी प्रहरी प्रशासन,राजनीतिक नेतृत्व सबै उनको हातमा रहेको भनेर प्रभाव र पहुँचको धाक लगाउँथे । अहिलेसम्म खाँण सहित १२ जना पक्राउ परेका छन् ।
राजनीतिक दलका शक्तिशाली नेताहरु धमाधम पक्राउ पर्न थाल्दा यो ठगी प्रकरणलाई कमजोर बनाएर दोषीलाई उन्मुक्ति दिईने त होईन भन्ने प्रश्न टड्कारो रुपमा उठेको छ । यसमा सरकाले खुट्टा कमायो भने पीडित पीडामै बाँच्न बाध्य हुनेछन भने यस्ता संगठित रुपमा ठगी गर्ने गिरोहको मनोबल बढ्ने छ ।ठगीमा संलग्नलाई जोगाउन खोज्नेहरुप्रति सांसद र नागरिक समाज चनाखो हुन जरुरी छ । नेपाली नागरिकलाई अनागरिक बनाएर रकम उठाउने यस्तो डरलाग्दो अपराधिक गिरोहलाई फेरि माथि उठ्न दिने काम कहि कतैबाट नहोस् ।
प्रलोभनमा परेर पीडित बनेकाहरुलाई कसरी न्याय दिन सकिन्छ भन्ने कुरामा पनि सरकार लाग्नु पर्छ । उनीहरुले सापटी लिएर,ऋण काढेर, आफ्नो जायजेथा बेचेर गिरोहलाई बुझाएको पैसा फिर्ता कसरी गराउने भन्ने कुरामा पनि सरकार गम्भीर हुन जरुरी छ । आफ्ना सन्तानलाई राम्रो बानी व्यवहार,संस्कार,मेहनत सिकाउने पहिलो काम अभिभावकको हो । तर यो ठगी प्रकरणमा टोप बहादुर रायमाझीको छोरा,अनि ईन्द्रजित राईको छोरा पनि संलग्न हुनुले गम्भीर प्रश्न खडा गरेको छ ।
तपाईको बिचार