काठमाण्डाैमा आजदेखि रोजगार मेला सुरु - दुधकोशी खबर

काठमाण्डाैमा आजदेखि रोजगार मेला सुरु

  • Dudh Koshi २०८० जेठ १६ मङ्गलबार १६:०५:३८

काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा काठमाण्डाैमा आज मङ्गलवारदेखि रोजगार मेला सुरु भएको छ । टेकुमा रहेकाे महासङ्घको कार्यालयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सहयोगमा रोजगार मेला सुरु भएको हो । मेला भाेलि बुधवारसम्म चल्नेछ ।

मेलाको उद्घाटन कार्यक्रममा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगार मेलाले जनशक्ति चाहिने कम्पनी र रोजगारी आवश्यक हुनेहरूकाे बीचमा पुलको काम गर्ने बताउनुभयो । उहाँले यस्ता मेलाले नेपालमा भएका जनशक्ति उद्योग व्यवसायमा उपलब्ध गराउन सहयोग पुर्‍याउने बताउनुभयो । वैदेशिक रोजगारीमा जाने युवाहरूलाई रोजगार मेलाले रोक्न सक्ने उहाँकाे भनाइ छ ।

अध्यक्ष ढकालले आउँदाे आर्थिक वर्षको बजेटमा समेत निजी क्षेत्रको मनोबल उच्च राख्न हरेक क्षेत्रबाट सरकारले सहयोग गर्ने उल्लेख गरेको बताउनुभयो । उहाँले बजेटमा समेटिएकाे स्टार्टप र सीप विकासकाे विषय निजी क्षेत्रले उठाएको बताउनुभयो ।

मेलामा आफूले खाेजेकाे जस्ताे रोजगार पाइने आशामा आउनुभएकी प्रतिज्ञा घिमिरेले रोजगार मेलाले बढ्दै गएको बरोजगारीको समस्या थोरै भए पनि कम हुने बताउनुभयो । उहाँले देशभित्र नै रोजगारी नपाएर विदेश जाने युवाहरू बढेको भन्दै कुन कम्पनीमा कस्तो जनशक्ति आवश्यक रहेको भन्ने बुझ्न सकिने भएकाले मेलामा आएको बताउनुभयो ।

त्यस्तै हिरामाया श्रेष्ठले अनलाइनहरूमा ‘फेक’ राेजगारी प्रचार हुने भएकाले प्रत्यक्षरूपमा बुझ्न मेलामा आएको बताउनु भयो । उहाँले विदेश जानुभन्दा पनि नेपालमा नै रोजगारी खोजेर बस्न सके देश राम्रो हुने बताउनुभयो ।

मेलामा काठमाण्डाै र ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, महासङ्घका सदस्य भक्तपुर र ललितपुर उद्योग वाणिज्य सङ्घको सहकार्य रहेको छ । कामको खोजीमा रहेका युवाहरूलाई प्रमुख कम्पनीहरूमार्फत कामको अवसर जुटाइदिन पहल गर्ने, नयाँ अवसरहरूको खोजी गर्न सघाउने, आवश्यक सीप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला सुरु भएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर