माटोको स्वास्थ्य र स्वस्थ माटोको महत्त्व - दुधकोशी खबर

माटोको स्वास्थ्य र स्वस्थ माटोको महत्त्व

  • Dudh Koshi २०८० जेठ १६ मङ्गलबार ०३:५८:५८

चाहे ठूलठूला आलुका बीउ हुन या त स–साना तोरीका गेडा, कुनै पनि बाली लगाउनुपहिले सबैभन्दा महत्त्वपूर्ण काम हुन्छ खनजोत गर्नु । खनजोत प्रकृया बीउ अङ्कुरण र माटोमा बेर्ना बलियो गरी उभिनका लागि निक्कै महत्त्व हुन्छ । हामीमा यो विश्वास पनि छ कि यसले हावा र पानीको सहज प्रवाह गर्नुका साथै माटोमा न्यानोपन प्रदान गरी बीउ अङ्कुरणको लागि उपयुक्त वातावरण दिन्छ । यद्यपि अधिक (सघन) खनजोत गर्नाले माटोमा असर पनि पुर्याइरहेको हुन्छ । जसप्रति हामी या हाम्रा किसानको खासै ध्यान गएको देखिँदैन ।

खनजोत प्रकृयाले जोतिएको माटोको सूक्ष्मकणहरू र साना छिद्रहरू चलायमान हुन्छन् । यसले प्राकृतिक माटोको संरचनालाई नष्ट गर्न सक्छ र माटोको समुच्चयलाई कमजोर बनाउँछ । फलतः क्षरण र सङ्घनन (कम्प्याक्शन) को जोखिम बढ्नुका साथै बिरुवाको जराको वृद्धिमा बाधा पुर्याउँछ । अन्ततः माटोको स्वस्थ बिग्रन्छ र बाली उत्पादनमा ह्रास आउँछ ।

माटो के हो ?

माटो समुच्चय स–साना कणहरुको समूह हो । यी कणहरु जैविक पदार्थ र एक विशेष प्रकारको माटो (चिम्टे माटो) द्वारा एकअर्कासँग जोडिएका हुन्छन् । सजिलो भाषामा भन्नुपर्दा माटो समुच्चय माटोको कणहरुको एकीकृत रुप अर्थात् माटोको डल्लो हो । वास्तवमा समुच्चय माटो संरचनाको आधारभूत एकाइ हो, जसले माटोको भौतिक उर्वरता निर्धारण र कायम गरेको हुन्छ । माटोमा सामान्यतः तीन प्रकारका गुण हुन्छन जसले माटोलाई उर्वर र उत्पादनशील बनाइराखेका हुन्छन् । ती गुण भौतिक, रासायनिक र जैविक हुन् । तर सघन खनजोतका कार्यहरू अपनाउँदा माटो समुच्चय टुक्रिन्छ र भौतिक उर्वरतामा हानी पुग्छ ।

फलस्वरुप माटोको माथिल्लो तहमा क्षरण बढ्छ भने पोषक तत्वहरु माटोका कणसँगै बगेर जाने खतरा हुन्छ । माटो क्षरण हुनु भनेको माटोका स–साना कणहरु पानीसँग बगेर या त हावासँगै उडेर जानु हो । यसो हुनु माटोको स्वास्थ्यको दृष्टिकोणले गहन चिन्ताको विषय हो । खेतबारी तयार गर्दा अति–आवश्यक मानिने खनजोत प्रकिया साँच्चै हानिकारक अभ्यास पनि हुन सक्छ । यी समस्याबाट जोगिन नसकिने होइन, त्यसका लागि माटो स्वस्थ बनाउनु जरुरी छ । मुख्य प्रश्न माटोको स्वास्थ्य के हो र स्वस्थ माटो भनेर केलाई चिन्ने त ?

माटोको स्वास्थ्य

‘माटोको स्वास्थ्य’ गएको दशकमा कृषि र वातावरणीय क्षेत्रहरूमा अति उच्चारण गरिएको शब्द हो जसको प्रारम्भिक सन्दर्भ भने १०० वर्ष अघिदेखि नै सुरु भैसकेको थियो । यस बीचमा माटोको स्वास्थ्य बुझ्न र बुझाउन धेरै परिभाषाहरु आएका छन् । त्यसबाट यो मान्न सकिन्छ कि माटोको स्वास्थ्यको बारेमा चेतना बढ्दै गएको छ, तर त्यो सँगसँगै हामी किन माटोको स्वास्थ्यको मतलब राख्छौँ, यसलाई कसरी मापन गर्ने र माटोले प्रदान गर्ने पारिस्थितिक सेवाहरूको इष्टतम् र दिगो वितरणका लागि कसरी व्यवस्थापन गर्ने भनेर बुझ्न पनि आवश्यक छ ।

कतिपयले माटोको स्वास्थ्यलाई माटोको गुणस्तरका रुपमा उच्चारण गर्ने नयाँ तरिका हो पनि भन्ने गर्छन् । तपाईँका मनमा पनि यो प्रश्न उब्जन सक्ला, माटोको स्वास्थ्य र माटोको गुणस्तर भनेका एउटै होइनन् र या उस्तैउस्तै अर्थ राख्दैनन् र ? त्यसैले माटो स्वास्थ्यमा जानु अघि माटोको गुणस्तरबारे थोरै चर्चा गरौँ ।

माटोको गुणस्तर

माटोको गुणस्तर एक विशिष्ट शब्द हो जसले माटोको एक विशेष प्रकार्य वा सामूहिक कार्यहरू प्रदान गर्ने क्षमतालाई जनाउँछ । अर्को भाषामा भन्नुपर्दा माटोको गुणस्तर भनेको माटोले प्रदान गर्ने सेवाको क्षमता हो जस्तै बाली उत्पादन गर्न सक्ने क्षमता, माटोका जीवहरुलाई उचित बासस्थान प्रदान गर्ने क्षमता लगायत । त्यसैले माटोले दिनुपर्ने सेवाहरु तत् (जसलाई कार्य पनि भन्न सकिन्छ) चाहे त्यो विरुवाको लागि होस् या त जनावर (मानवसहित) का लागि होस्, सही अनुपातमा दिने क्षमता राख्दछ भने त्यस्तो माटोलाई गुणस्तर माटोको संज्ञा दिन सकिन्छ ।

तसर्थ पनि माटोको गुणस्तरलाई मुल्याङ्कन या मापन गर्नु पूर्व माटोले प्रदान गर्ने कार्यात्मक विशेषतालाई चिन्न जरुरी छ । माथिकै उदाहरणलाई हेर्ने हो भने बाली उत्पादनको समर्थन/वा माटो जीवहरुको लागि बासस्थान प्रदान गर्ने क्षमताको आधारमा माटोको गुणस्तरलाई मूल्याङ्कन गर्न सकिन्छ । एक पटक माटोको विशिष्ट कार्यात्मक विशेषताहरू परिभाषित गरेपछि, यसलाई विभिन्न सूचकहरूद्वारा मापन पनि गर्न सकिन्छ । जस्तै, हामीले माटोको जैविक पदार्थ र बाली उत्पादनको लागि गुणस्तर थाहा पाउनु छ भने माटोको पोषक तत्वको स्थिति मापन गरेर माटोको गुणस्तर निर्धारण गर्न सकिन्छ । माटोको गुणस्तर थाहा पाइराख्न हाम्रो माटोलाई निरन्तर अनुगमन गर्नु जरुरी छ, जसका लागि माटो परीक्षण अपरिहार्य छ ।

यद्यपि हामीले गर्ने परीक्षणले मुख्यतया: बिरुवालाई चाहिने पोषक तत्वहरू प्रदान गर्ने माटोको क्षमतालाई मात्र केन्द्रित गरेको हुन्छ । यसरी समग्र माटोको गुणस्तर ननाप्ने हुनाले माटोको वास्तविक गुणस्तर भने हामिले थाहा पाइराखेका हुँदैनौँ । अरु चिजको गुणस्तर मापन गरे जस्तै: केवल बाली उत्पादन, पानीको गुणस्तर वा अन्य कुनै एकल परिणाम मापन गरेर माटोको गुणस्तर निर्धारण गर्न सकिँदैन । माटोको गुणस्तर हावा वा पानीको गुणस्तरबाट धेरै फरक छ, यो केवल माटो प्रदूषणको परिधिमा मात्र सीमित छैन । सामान्यतया माटोको गुणस्तरलाई माटोको भौतिक, रासायनिक र सूक्ष्मजीवविज्ञानी गुणहरूको अन्तरक्रियाले निर्धारण गरेको हुन्छ । माटोको अन्तर्निहित क्षमतालाई समायोजन गर्ने हो भने यी गुणहरूलाई किसानहरूले व्यवस्थित गर्न सक्छन् । त्यसैले यो भन्न सकिन्छ कि गुणस्तर माटो आंशिक रुपमा भए पनि स्वस्थ माटोको सङ्केत हो, माटोको गुणस्तर नै ‘माटोको स्वास्थ्य’ शब्दको ऐतिहासिक उत्पत्ति हो ।

माटो स्वास्थ्यको महत्त्व

माटोलाई गतिशील र जटिल जीवन प्रणालीको रूपमा चित्रण गर्न सकिन्छ । त्यसैले स्वस्थ माटोले जैविक उत्पादकत्वलाई कायम राखेको हुन्छ । माटो स्वास्थ्य भन्नाले माटोको जैविक, रासायनिक तथा भौतिक अवस्थालाई सन्तुलित राख्न सक्ने क्षमता हो, विशेषगरी माटोको त्यो क्षमता जस अनुकूल माटोले जैविक उत्पादकत्वलाई कायम राखेर वातावरणीय गुणस्तर प्रवर्द्धन गर्न, बोटविरुवा र जनावरहरूको स्वास्थ्य कायम राख्न, महत्त्वपूर्ण जीवन प्रणालीको रूपमा काम गर्न सक्छ, त्यस्तो माटोको क्षमतालाई माटो स्वास्थ्य भनिन्छ ।

माटोमा रहेका जीवाणु माटो स्वास्थ्यको अटल हिस्सा हो । माटोका जैविक घटकहरू जस्तै ब्याक्टेरिया, एक्टिनोमाइसेट्स, ढुशी, शैवाल, प्रोटोजोआ, नेमाटोड, माइट्स, कीराहरू, गँड्यौलाहरू र ठूला माटोमा बस्ने जनावरहरू, साथै बिरुवाको जरा र भूमिगत बिरुवाका भागहरू सहित, सबैले सामूहिक रूपमा उल्लेखनीय अन्तरक्रिया गरेका हुन्छन् । यी अन्तरक्रिया र यिनीभित्र हुने खाद्य जाली (फूड वेब) माटोको स्वास्थ्यका महत्त्वपूर्ण घटकहरू हुन् । माटोको जैविक घटकहरूले माटोको संरचना, क्षरण र पानीको उपलब्धतालाई पनि असर गरेका हुन्छन् । त्यसैगरी तिनीहरू विघटन गर्न (कुहिने प्रकृया), पोषक तत्व चक्र चलाउन, विषाक्त पदार्थहरूको विच्छेदन गर्न र हानिकारक कीटहरूको दमनका लागि पनि महत्त्वपूर्ण हुन्छ । विश्वको आनुवंशिक विविधताको ठूलो अनुपात माटोमा भएका स–साना जीवाणुहरुले निर्धारण गरेका हुन्छन् । हाम्रो बुझाइको गोलाईलाई फराकिलो बनाउने हो भने माटो स्वास्थ्यलाई ‘स्थिरता’ को निकट पर्यायवाची शब्द हो भन्दा फरक नपर्ला ।

मेरियम–वेबस्टर शब्दकोषका अनुसार ‘स्वास्थ्य’ भनेको ‘शरीर, मस्तिष्क वा आत्मा स्वस्थ हुनुको अवस्था हो ।’ हामीले स्वास्थ्यको यो परिभाषालाई माटोमा लागू गर्ने हो भने ‘माटो स्वास्थ्य’ लाई ‘माटोको भौतिक, रसायनिक र जैविक अवस्था, जसले जमिनमा रहेको बिरुवाहरूको वृद्धि र विकासलाई दिगो राख्न सक्ने क्षमता प्रदान गर्छ ।’ भन्दै पुनर्संरचना गर्न सक्छौँ । माथि उल्लेख गरेजस्तै माटो स्वास्थ्यको धेरै परिभाषाहरू छन्, माटोको स्वास्थ्य बुझ्न र समर्थन गर्न सजिलो होला तथापि, मापनको साथ यसलाई अपनाउन गाह्रो छ ।

अझ ठूलो चुनौती त यो छ कि किसानहरू, अनुसन्धानकर्ताहरू, घर मालिकहरू र संरक्षणकर्ताहरूले माटोको स्वास्थ्यलाई फरक दृष्टिकोणले हेर्न सक्छन् किनकि उनीहरूका लागि माटोको प्रयोजन या कार्यहरुले फरक फरक अर्थ राख्दछ । एक किसानको लागि माटोको प्राथमिक कार्य भनेको बाली उत्पादन हो त्यसैले उसका लागि माटोले पर्याप्त पानी साँच्नु, पर्याप्त पोषक तत्वहरू कायम राख्नु र दिगो बाली उत्पादन गर्न कीट/कीरा नियन्त्रण वातावरण प्रदान गर्नु नै स्वस्थ माटोको परिभाषा हो । एक सामान्य घर मालिकको लागि माटोको प्राथमिक कार्य भनेको उनीहरूको बगैँचाको लागि पोषक तत्वहरू प्रदान गर्नु हुनसक्छ । तपाईँको हुनुहुन्छ र तपाईँले माटो के को लागि प्रयोग गर्नुहुन्छ भन्ने कुरामा माटोको कार्य र माटोको स्वास्थ्य निर्भर गर्दछ । समग्रमा भन्नुपर्दा माटोको स्वास्थ्यले माटोको कार्यलाई सुधार गर्न चार सिद्धान्तहरूलाई प्रतिनिधित्व गर्दछ । ती हुन्, जीवित जराहरूको उपस्थिति बढाउने, खेतमा खनजोत गर्ने कार्य कम गर्ने, माटोलाई धेरैजसो अधिकतम् ढाक्ने (छोप्ने) र जैविक विविधतालाई फराकिलो बनाउने । यिनै चार सिद्धान्तलाई निरन्तर पालना गर्ने हो भने माटो स्वस्थ हुन्छ र यसले दिने सेवाहरु दिगो हुन्छन् । फलतः किसानको बाली उत्पादन बढ्छ र वातावरण पनि सन्तुलित र स्वस्थ रहन्छ ।

माटोको स्वास्थ्य मापन

तपाईँ कुनै मेडिकल डाक्टरमा गएको पल सम्झिनुहोस् त : तपाईंहरुलाई याद आउन सक्छ तापमान, रक्तचाप, धड्कनको दर आदि मापन गर्ने यन्त्रहरू जसलाई व्यक्तिको समग्र स्वास्थ्यको मुख्य सूचकको रूपमा प्रयोग गरिन्छ । त्यसैगरी माटोको स्वास्थ्य मापन गर्ने पनि धेरै सूचकहरू छन्, जुन माटो प्रक्रियाहरूमा हुने परिवर्तनहरूप्रति संवेदनशील हुन्छन् । यस्ता सूचकहरुले माटोको जैविक, रासायनिक र भौतिक गुणहरूबीचको सम्बन्धलाई प्रतिनिधित्व गरेका हुन्छन्, जसलाई प्रयोग गरी हामी माटोको स्वास्थ्यबारे जानकर हुन सक्छौँ।

मानव स्वास्थ्यको स्थिति प्रदान गर्न अत्यावश्यक सङ्केतहरु प्रयोग गरे जस्तै माटोको अवस्था स्वस्थ भए/नभएको पत्ता लगाउन स्वास्थ्य सूचकहरू विकास गरिएका छन् । जसरी रुघाखोकी लाग्नु फ्लुको सूचक हुन सक्छ त्यसरी नै सुक्खा र पटपटी फुटेको देखिने माटो पानीको मात्रा या सङ्कलन कम हुनाले अस्वस्थ माटोको सङ्केत हुन सक्छ । यस्ता धेरै सङ्केतहरुलाई माटोको स्वस्थताको सूचकका रुपमा प्रयोग गरिँदै आएको छ । यद्यपि हामीले यी सूचक अपनाउँदा ध्यान पुर्याउन आवश्यक छ । जस्तै कि बलौटे माटो र चिम्टे माटो दुवै स्वस्थ हुन सक्छन्, तर तिनीहरूमा पानी र पोषक तत्वहरू स्पष्ट रूपमा फरक फरक मात्रामा हुन सक्छ, जसलाई फरक तरिकाको व्यवस्थापन आवश्यक हुन सक्छ र तिनीहरुको प्रयोगको सम्भावनाहरू पनि भिन्न हुन सक्छ । माटोको स्वास्थ्य मापन गर्ने कुनै पनि स्वीकृत, मानकीकृत तरिका छैन र यी सूचकहरूले सधैँ एकरूप परिणामहरू प्रदान पनि गर्दैनन् । यद्यपि विश्वव्यापी वैज्ञानिकहरूले माटोको स्वास्थ्य मापन बुझ्न र सुधार गर्न आफ्नो प्रयासहरू निरन्तर रूपमा लागि परेका छन् ।

माटो स्वास्थ्य स्कोरकार्ड

माटो स्वास्थ्यको मापन गर्नका लागि वैज्ञानिकहरुले एउटा नयाँ तरिका भित्र्याएका छन् । जसलाई माटो स्वास्थ्य स्कोरकार्ड (नतिजा समेटिएको पत्र) भनिन्छ । यसका धेरै संस्करणहरू छन्, यसले माटोको जैविक, रासायनिक र भौतिक गुणहरूको बारेमा सामूहिक जानकारी प्रदान गर्छ । जसमध्ये एक हो लोकप्रिय कर्नेल विश्वविद्यालयको माटो स्वास्थ्यको व्यापक मूल्याङ्कन विधि (यसले माटोको स्वास्थ्य मापन गर्ने सूचकहरूको समूह बनाउँछ र स्कोरकार्डबाट आएको नतिजालाई १ र १०० बीचको सङ्ख्यामा परिणाम दिन्छ जस्ले अत्यधिक अस्वस्थदेखि अत्यधिक स्वस्थसम्मको माटोको अवस्थालाई जनाउँछ । तर यो बुझ्न जरुरी छ कि माटो स्वास्थ्य मूल्याङ्कन प्रतिवेदनले सापेक्ष नतिजा मात्र प्रदान गर्दछ त्यसैले यसलाई माटो व्यवस्थापनको लागि सिधा सिफारिसका रुपमा लिन हुँदैन जस्तै कि मल सिफारिस ।

चासो हुन सक्छ : हामी आफैँले पनि केही गरी माटोको स्वास्थ्य बुझ्न सकिन्छ कि ? पक्कै सकिन्छ । खेती गरिएको माटो खनेर गँड्यौलाहरूको सङ्ख्या गणना गरेर आफ्नो खेतमा माटोको स्वास्थ्यको द्रुत मूल्याङ्कन गर्न सकिन्छ । जस्तै यदि खेतमा १० वटा गँड्यौला छन् भने त्यो माटोको स्वास्थ्य मूल्याङ्कन लागि राम्रो सङ्ख्या हो । त्यसैगरी आफ्नो खेती गरिएको माटोलाई अवाधित माटोसँग तुलना गर्न सकिन्छ ।

उदाहरणका लागि जरा कति गहिरो जान्छ, माटोको डल्लाहरु सजिलै फुट्छ कि फुट्दैन, आदि । माटोको रङ तुलना गर्दा पनि माटो स्वस्थ्यबारे बुझ्न सकिन्छ । गाढा रङ हुनु माटोमा अधिक जैविक पदार्थ वा जैविक कार्बन हुनुलाई जनाउँछ । अर्को शब्दमा यो माटोको स्वास्थ्यको राम्रो सङ्केत हो । यस्ता थुप्रै सूचकहरुको प्रयोग गरी सामान्य किसानले पनि आफ्नो माटो स्वस्थ भए/नभएको, स्वास्थताको अवस्थामा बदलाव आएको कुरालाई सजिलैसँग नियाल्न सक्छन् र समयमा नै उचित व्यवस्थापन प्रविधि प्रयोग गरी आफ्नो माटोलाई उर्जाशील, उर्वर, गुणस्तर र स्वस्थ्य बनाउन सक्छन् ।

अन्त्यमा,
स्वस्थ माटोले नै स्वस्थ खाना उत्पादन गर्छ । स्वस्थ खानाले मानिसहरूलाई स्वस्थ बनाउँछ, जसरी डाक्टरहरूले बिरामी हुँदा हाम्रो हेरचाह गर्छन् त्यसरी नै किसानहरूले आफ्नो जमिनको उचित हेरचाह र स्याहारले माटोलाई स्वस्थ राख्न सक्छन् । अन्ततः हामी आम जनमानसको स्वास्थ्यलाई पनि स्वस्थ खानामार्फत् सन्तुलित राख्न सक्छन् । तसर्थ माटोको स्वास्थ्यलाई प्राथमिकता दिने कृषि अभ्यासमा हाम्रा किसानलाई सामेल गराउनु आवश्यक छ । यसका लागि चाहिने आवश्यक प्राविधिक र आर्थिक सहयोग जुटाउन पनि उत्तिकै जरुरी छ र हामी सबै एकजुट हुन आवश्यक छ । आफ्नो माटोलाई माया गरौँ अनि माटोको स्वास्थ्यमा ध्यान दिउँ ।

 

डा. दिनेश पाण्डे र लक्ष्मी चौलागाईँ

डा. पाण्डे कृषि पर्यावरण प्रणालीमा कार्बन र नाइट्रोजन चक्रको विशेषज्ञता भएका माटो वैज्ञानिक हुनुहुन्छ । चौलागाईँ अहिले ल्यान्डस्केप मोडलिङमा पीएचडी गर्दै गरेकी कृषि माटो विज्ञानकी आकाङ्क्षी हुनुहुन्छ ।

तपाईको बिचार

सम्बन्धित खबर