पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सोलुखुम्बु आउनु हुने - दुधकोशी खबर

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सोलुखुम्बु आउनु हुने

  • Dudh Koshi २०८० जेठ १५ सोमबार ०९:३१:४४

सोलुखुम्बु । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सोलुखुम्बु आउनु हुने भएको छ । सगरमाथा सफल आरोहणको ७० औं बर्षगाँठ “प्लाष्टिनम जुब्ली बिशेष कार्यक्रम”का लागि पूर्व प्रधानमन्त्री ओली सोलुखुम्बु आउनुहुने भएको हो ।

जेठ १२ तदनुसार मे २६ मा ओलीले तेन्जिङ हिलारी बिमानस्थल लुक्लामा तेन्जिङ हिलारी पार्कको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले जानकारी दिनुभयो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, संघीय माननीय, कोशी प्रदेशका मन्त्री तथा माननीयहरु पनि कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

“प्लाटिनम जुब्ली कार्यक्रममा” न्यूजिल्याण्डका पूर्व प्रधानमन्त्री समेत सहभागी हुने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।
सन् १९५३ मे २९ मा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमण्ड हिलारीले सगरमाथाको पहिलो पटक सफल आरोहण गर्नुभएको थियो ।

“प्लाटिनम जुब्ली” को अवसरमा खुम्बु पासाङल्हामु गाउँपालिकाले यहि मे २६ देखि २९ तारिकसम्म विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।गाउँपालिकाले जेठ १२ तदनुसार मे २६ मा तेन्जिङ हिलारी बिमानस्थल लुक्लामा तेन्जिङ हिलारी पार्कको उद्घाटनका साथमा जेठ १३ र १४ गते तदनुसार मे २७ र २८ मा खुम्जुङ माध्यमिक विद्यालयमा विद्यालय स्तरीय अतिरिक्त क्रियाकलापको कार्यक्रम राखिएको छ ।

जेठ १५ तदनुसार मे २९ मा खुम्जुङ माध्यमिक विद्यालयमा “सर एडमण्ड हिलारी भिजिटर्स सेन्टर” र सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेमा तेन्जिङ नोर्गे शेर्पा संग्रहालय केन्द्र” को उद्घाटन गरिने कार्यक्रम रहेको छ ।

सगरमाथाको सफल आरोहण भएको दिन अर्थात् मे २९ मा नै नाम्चे बजारमा सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको परिवारलाई सम्मान पत्र वितरण र एभ्रेष्ट म्यूजिकल नाइटका साथमा प्लाटिनम जुब्ली कार्यक्रम समापन गरिने खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले जानकारी दिनुभयो ।

तपाईको बिचार

सम्बन्धित खबर