काठमाण्डाै – गाउँ–गाउँ पुगेर चिट्ठी वितरण गर्ने हुलाकी अर्थात् ‘हल्कारा’ को कथामा बनेको चलचित्र आजदेखि प्रदर्शनमा आएको छ । याे चलचित्रकाे निर्देशन विक्रम सापकोटाले गरेका हुन् ।
कलात्मक शैलीलाई उजागर गरेर तयार गरिएको चलचित्र बजारमा आइरहेका चलचित्रभन्दा कम नरहेको निर्देशक विक्रम सापकोटाकाे दाबी छ ।
उनले भने, ‘हुलाकीको आँखाबाट भनिएको जीवनको मर्मस्पर्शी कथा बोकेको चलचित्रमा वैदेशिक रोजगारीको आयामलाई प्रस्तुत गरिएको छ ।’
हुलाकीको सपना र अन्तरसङ्घर्षलाई प्रस्तुत गरिएको यस चलचित्रमा गाउँको परिस्थिति र सामाजिक सचेतना पनि समेटिएको छ । निर्देशक सापकोटा नेपालमा स्थापित चलचित्रको भाष्य शैलीमा समेत यसले परिवर्तन ल्याउनेमा विश्वस्त छन् । चलचित्रमा महेश त्रिपाठी, विनिता थापामगर, उमेश तामाङ, पशुपति राई, दीपक क्षेत्री, विद्या कार्कीलगायत कलाकारले अभिनय गरेका छन् ।
चलचित्रमा शीर्षभूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गरेका छन् । हुलाकीलाई बाल्यकालमा देखेका अभिनेता त्रिपाठीलाई चरित्र निर्माण गर्न निर्देशक सापकोटाले पटकथामा तयार पारेकाे पात्रले सहज बनायो । ‘चलचित्रले बाल्यकालको स्मृतिलाई ताजा बनायो । हुलाकीसँग जोडिएको सन्दर्भ सम्झेँ । आफ्नो पात्रलाई पढेपछि बाध्यता र स्थितिलाई महसुस गरेँ’, अभिनेता त्रिपाठीले भने ।
चलचित्रमा विनिता थापामगरले अर्को महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छिन् । रङ्गमञ्च हुँदै चलचित्रको पर्दामा आइपुगेकी अभिनेत्री थापामगरलाई मुख्य चरित्र निर्वाह गर्न धेरै समय लाग्यो । अभिनेत्री थापामगरले भनिन्, ‘यसमा अभिनेत्रीको परिभाषालाई पछ्याइएको छैन । उसको सुन्दरता अनुहारमा नभइ पात्रको विभिन्न आयाममा झल्किन्छ । पात्र बाँचेकी छु ।’
यसको लेखक निर्देशक सापकोटासँगै कवि विप्लव प्रतीक र आकाश बराल पनि हुन् । चिन्तन राजभण्डारी छायाँकार रहेका चलचित्रलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् । चलचित्रलाई जीजीए समूहअन्तर्गत रहेर करण श्रेष्ठले वितरण गरेका हुन्।
तपाईको बिचार