यस्तो छ फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’ - दुधकोशी खबर

यस्तो छ फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’

  • Dudh Koshi २०८० जेठ १५ सोमबार ०८:५२:१३

काठमाण्डाै – गएकाे हप्तादेखि नयाँ चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ प्रदर्शनरत छ । बनिरहेका चलचित्रको भिडमा यो फरक देखिएको छ । किनकि नृत्यलाई प्रमुख विषय बनाएर यसको कथा बनाइएकाे छ ।

नृत्य निर्देशनमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल रिनाशा राई राणाले यसको निर्देशन गरेका छन् । उनको यो दोस्रो निर्देशकीय चलचित्र हो तर, दर्शकलाई पर्दामा निर्मित पात्रसँग जोड्न नसक्दा यसले नत राम्रो समीक्षा नै पाइरहेको छ नत राम्रो व्यापार नै गर्न सकेको छ ।

पात्रहरुले आफ्ना उद्देश्य प्राप्तिका लागि प्रयत्न गर्दा आइपर्ने व्यवधान नै अवरोध हुन् । अवरोध नभएमा पात्रलाई उद्देश्य प्राप्त गर्न सहज हुन्छ । सहजताले दिएको सफलताले अन्यलाई प्रभाव पार्दैन। चलचित्रमा प्रमुख पात्रले आफ्नो उद्देश्य प्राप्तिका लागि खासै अवरोधहरुको सामना गर्दैनन् । तसर्थ उसको उद्देश्य प्राप्ति सजिलै हुन्छ । द्वन्द्व सिर्जनामा चुक्दा दर्शकले पात्रसँगै यात्रा गर्दैनन् ।

धराने केटो ज्याकी लिम्बू (धीरज मगर) मै केन्द्रित रहेको चलचित्रमा उनको पहिचान नृत्यले स्थापित गरेको हुन्छ तर, ज्याकीका बुबा छोरालाई लाहुरे बनाउन चाहन्छन् । जेठा दाजु मिलनमार्फत् पूरा नभएको सपना ज्याकीमाथि लादिएको छ । एकतर्फ बुबाको चाहना अर्कोतर्फ आफ्नो गन्तव्य । ज्याकी अलमलमा रहँदा नै एउटा घटनाले उनलाई काठमाण्डौसम्म ल्याउँछ ।

ज्याकीझैँ रुबी (जसिता गुरुङ) को पनि सपना नृत्य नै हो । उनलाई आफ्नो भविष्य नृत्यकार भएर बनाउनु छ तर, घरमा आमाबाहेक उनको यो सपनामा साथ दिने कोही छैन । काठमाण्डौमा यी दुईको भेट हुन्छ । एउटै गन्तव्य भएकाले सहकार्य गर्छन् । यी दुई पात्रले आफ्नो सपना पूरा गर्ने सन्दर्भमै ‘ज्याकी : आई एम ट्वान्टी वान’को बाँकी कथा प्रस्तुत गरिएको छ ।

हिपहप डान्सलाई सुन्दर ढङ्गबाट प्रस्तुत गरिएको छ । सङ्गीतको तालअनुसारका नृत्यका स्टेपको प्रस्तुति आकर्षक देखिन्छ।  नृत्यझैँ कथालाई पर्दामा विश्वासिलो ढङ्गमा प्रस्तुत गर्न नसक्दा निर्देशक राईले राम्रो चलचित्र दिन सकेका छैनन् ।

प्रमुख पात्रले सहजै गन्तव्य तय गर्न थालेपछि दर्शक जोडिँदैनन् । चलचित्रको सङ्गीत र यसमा देखाइएको नृत्यहरू धेरै मात्रामा प्रभावित भएको देखिन्छ । आफ्नो पात्रलाई जीवन्त बनाउन अभिनेता मगर, अभिनेत्री गुरुङसँगै अभिनेता अरुण क्षेत्रीले गरेको मेहनत देखिएता पनि प्रस्तुतिका कारण त्यो महसुस गर्न सकिँदैन ।

निर्माण समूहले उल्लेखित कलाकारलाई नृत्यको प्रशिक्षण नै दिएर चलचित्र निर्माण गरेको थियो । नेपाली चलचित्रमा आफ्नो पात्र निर्माणमा यस किसिमको मेहनत निकै कम कलाकारले गर्ने गरेकाछन् ।

यद्यपि विषय र त्यसको प्रस्तुतिको कारण त्यो फिक्का देखिएको छ । एउटा गीतलाई उत्कृष्ट बनाउन निर्देशक राणाले गर्ने मेहनत चलचित्रमा देखिएको छैन । त्यसैले चलचित्र हेरिरहँदा कहीँकतै नृत्य रियालिटी सो हेरेजस्तो पनि लाग्छ तर, हिपहपका नृत्य रुचाउने, भूमिगत नृत्य गर्ने समूहलाई भने यसले आकर्षण गर्न सक्छ । किनकि चलचित्रमा कथा नभइ नृत्य नै नृत्य छ ।

तपाईको बिचार

सम्बन्धित खबर